काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, सबै सार्वजनिक सवारी सञ्चालनमा आए

0

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा थपप खुकुलो भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोरबिजोर प्रणाली हटाइएको छ ।

योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि सबैखाले सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । 

यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर नियम लगाइएको थियो । गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर मंगलबारदेखि एक हप्ता अर्थात् असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने नियम लगाइएको छ । यस्तै यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । नलगाएमा गाडीभित्र प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै मंगलबारबाट थपिएको निषेधाज्ञामा अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिइ प्रवेश गर्न पाउने छन् ।

सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ । सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ । 

Leave A Reply

Your email address will not be published.