सप्तरीमा कर्फ्यु हटाइयो, तनाव कायमै

0

काठमाडौं, २ भदौ । सप्तरीको भारदहमा मंगलबार साँझदेखि लगाएको कर्फ्यु स्थानीय प्रशासनले हटाएको छ । मंगलबार अपरान्ह ४ बजेदेखि लगाइएको कर्फ्यु आज (बुधबार) बिहान ५ बजेबाट हटाइएको हो । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव शान्त गर्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु हटाएसँगै बिहानैदेखि आन्दोलनकारी चोक चोकमा निस्किएर प्रदर्शन शुरु गरेका छन् ।
आन्दोलनकारीले ६ बुँदे मागसहित प्रदर्शन शुरु गरेका हुन् । मृतकलाई शहीद घोषणा र २० लाख क्षतिपूर्ति, घटनाका दोषी प्रहरीको निलम्बन, गोलीकाण्डको छानविन गर्न समिति गठन गर्नुपर्ने लगायतको माग राखेर स्थानीयले प्रदर्शन शुरु गरेका हुन् । सप्तरीको भारदहमा प्रहरीले चलाएको गोली लागेर मंगलबार स्थानीय राजीव राउतको मृत्यु भएको थियो । घटनामा दीपक साह र देवनारायण विश्वास गम्भीर घाइते भएका छन् ।
करीब ७ सयको संख्यामा रहेका आन्दोलनकारीले भारदहस्थित इलाका प्रहरी कार्यालयलाई घेरा हालेर एकसाथ फायरिङ गर्ने र पेट्रोल बम प्रहार गर्न थालेपछि गोली चलाएको प्रहरीले बताएको छ । एक मधेश एक प्रदेशको माग गर्दै मधेसी मोर्चाको गठबन्धनले तराईका जिल्लाहरुमा बन्द आह्वान गरेको हो । जसबाट मध्यतराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा लगायतका जिल्ला बढी प्रभावित रहेका छन् । यी जिल्लाहरुमा यातायात, शैक्षिकसंस्था, कलकारखाना र बजार पूर्णरुपमा बन्द छन् ।

Leave A Reply

Your email address will not be published.