माधव नेपालसमक्ष पार्टी एकता जोगाउन ओली पक्षका नेताहरुको आग्रह

0

काठमाडौं : नेकपा एमालेको एकता कायम गर्न अनौपचारिक रुपमा छलफल गर्दै आएको केपी शर्मा ओली र माधव नेपाल पक्षीय कार्यदलका सदस्यले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

अनौपचारिक छलफलपछि पार्टी एकताका लागि तयार पारेको मस्यौदाबारे छलफल गर्न वार्ता टोलीका सदस्यहरु नेपाल निवास कोटेश्वर पुगेको हो ।

टोलीले केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा बनाएको बताइन्छ । छलफलका लागि केपी ओली पक्षीय वार्ता टोलीका सदस्यहरु बिष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङ पनि कोटेश्वर पुगेका थिए ।

छलफलका क्रममा ओली पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन नेता नेपालसमक्ष आग्रह गरेका छन् । पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग छलफल गर्न पनि नेता नेपाललाई आग्रह गरिएको नेताहरुले बताएका छन् । जवाफमा नेता नेपालले सो विषयमा आफु पक्षीय नेताहरुसँग छलफल गरेर प्रतिक्रिया दिने बताएको नेताहरुको भनाइ छ ।

यस अघि नेपाललाई घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्यले मात्र ब्रिफिङ गर्दै आएका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.