प्रतिनिधिसभा विघटनको मुद्दामा निवेदकका तर्फको बहस सकिँदै

0

काठमाडौं : प्रतिनिधि सभा विघटनको मुद्दामा आइतबार निवेदकका तर्फको बहस सकिँदै छ । विपक्षी गठबन्धनका तर्फवाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदले दायर गरेको रिटमा अब उनीहरुले बहसका लागि २ घन्टा ३५ मिनेट समय पाउनेछन् ।

गत वुधवारबाट सुरु भएको बहसमा १२ घन्टा बहस भइसकेको छ । तीन दिन चलेको बहसमा निवेदकहरुले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने र संविधानको धारा ७६ को उपधारा ५ मा दलीय ह्विप नलाग्ने ब्याख्या गरेका छन् ।

अब बहस गर्ने कानुन व्यवसायीमध्ये बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतीशकृष्ण खरेललाई ३०–३० मिनेटको समय निर्धारण गरिएको छ भने अन्यको हकमा थोरै समय निर्धारण गरिएको छ ।

चिया समयसम्म निवेदक पक्षको सकियो भने आजैबाट सरकारी पक्षको बहस प्रारम्भ हुनेछ । सरकारका तर्फवाट महान्यायाधिवक्ता रमेश वडालले बहस गर्ने तयारी गरेका छन् ।

सुरुकै दिनदेखि इजलासमा उपस्थित भएर बहसको तयारी गरेका बडालले सरकारका तर्फबाट धेरै समय वहस गर्नेछन् । उनले लामो समय बहस गर्ने अनिमात्र नायव महान्यायाधिवक्ताले वहस गर्ने तयारी गरेका छन् । सवर्वोेच्चले विपक्षीलाई पनि १५ घन्टाको समय उपलव्ध गराएको छ ।

उक्त समयमा सरकारी पक्षले साढे सात घन्टा समय पाउनेछन् । तोकिएको समयमा वहस सक्नका लागि सरकारी वकिलले विषय विभाजन गर्दै तयारी गरेका छन् ।

जेठ ७ गते मध्यरातमा काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीश संलग्न सवैधानिक इजलासमा बहस चलिरहेको छ ।

Leave A Reply

Your email address will not be published.