काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

0

काठमाडौं : लगातार वर्षा भइरहेकोले शनिबार देशका विभिन्न नदीहरुमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शनिबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने बताइएको छ । कोशी र यसका स–साना सहायक नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

शनिबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तथा सबैमा सतर्कता तह भन्दा तलै रहेको छ ।

तर पानी पर्ने क्रम जारी रहेकोले जुनसुकै बेला नदीमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

पश्चिमका राप्ती र बबई नदीमा बहाव सामान्य रहने पूर्वानुमान महाशाखाको छ । तर कन्काई, कमला, बागमती जलाधारका स–साना सहायक नदीमा क्षणिक, मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, धनकुटा, ताप्लेजुङ, संखुवासभासहित प्रदेश २ को बारा, धनुषा,सिरहा, सप्तरी र बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चिवतन, मकवानपुर, काठमाडौँ र सिन्धुली लगायतका जिल्ला भइ बहने नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा शनिबार बिहानैदेखि पानी परिरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.