राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चल्यो : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउनका लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारेका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पणमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानका विरुद्धको कदमको मात्र विरोध गरेको भन्दै सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारेका हुन् ।

नेपालका केही पूर्वप्रधानमन्त्रीहरु आफुलाई देशभक्त हुँ भनेर हिँड्ने तर विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गर्ने गरेको उनको आरोप थियो । उनले पोलिसी मेन्टेनमा हात हाल्नुस् भनेर पूर्व प्रधानमन्त्रीले खुलेआम भन्ने गरेको जिकिर गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै आक्रोश व्यक्त गरे । भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको उनको टिप्पणी छ । उनले राष्ट्रपतिलाई दिएको अधिकारमा सीमित रहेको भन्दै उनले गणतन्त्र प्रतिको वैरभावका कारण राष्ट्रपतिविरुद्ध अनावश्यक टिकाटिप्पणी भएको हुनसक्ने बताए ।

राजनीतिलाई संसद र जनतामाझ नलगेर अदालतमा लाने प्रवृत्तिले राजनीतिलाई बिगारिरहेको उनले बताए । प्रधानमन्त्री ओलीले अदालतको निर्णय एकदिन अघि नै बाहिर आउने कुराले अदालतभित्र पनि सेटिङ भएको हुन सक्ने संकेत गरे । प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सालाई कसैलेपनि मेटाउन नसक्ने धारणा राखे । उनले छिमेकी राष्ट्रसँग नेपालले समान व्यवहार गर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण गरेका थियो । त्यस्तै पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको तीन वर्षे कार्यकालमा सरकारको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा गरिएको सम्बोधन समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको थियो । 

Leave A Reply

Your email address will not be published.