राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई बोलाएर कोरोना महामारीको पछिल्लो अवस्था, यसको रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेका रणनीतिका बारेमा जानकारी लिएकी छन् ।

मन्त्री तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले आइतबार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति भण्डारीलाई कोरोना महामारीका अवस्था, रोकथाम तथा नियन्त्रणमा गरेका कामका बारेमा जानकारी गराएका थिए ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य संविधानमा नागरिकको मौलिक अधिकारका रूपमा उल्लेख गरेको बताउदै नागरिकको जीवन रक्षा नै सबैको प्राथमिकता भएकोमा विशेष जोड दिएकी थिइन् ।

उनले यसैगरी कोरोनासँग जुझ्न खोप एक मात्र विकल्प भएकाले सबै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने काममा अग्रसर हुन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन् ।

स्वास्थ्य मन्त्री तामाङले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न स्वास्थ्य विमाको प्रावधानलाई सुदृढ गरिनु पर्ने बताउँदै यस विषयमा सरकारले गम्भीरताका साथ अध्ययन गरिरहेको बताएका थिए ।

सचिव लक्ष्मण अर्यालले करिब ६० लाख कोरोना विरुद्धको खोप खरिदको प्रकृया सुरू भइसकेको जानकारी गराएका थिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले कोरोना महामारी विरुद्ध खोपको न्यायिक वितरण हुनुपर्ने कुरामा जोड दिँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको प्रभावकारिताको समेत अध्ययन गरिरहेको जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.