सहमतिमा ढिलाइ मस्यौदा प्रभावित

0

काठमाडौं, १ भदौ । प्रमुख राजनीतिक दलबीच संविधानका केही विवादित विषयमा सहमति हुन नसक्दा संविधान मस्यौदा समितिको काम प्रभावित भएको छ । मस्यौदा समितिले सहमति भएका विषयको मस्यौदा बनाइसके पनि शीर्ष नेता सम्मिलित विशेष समितिले धर्म, मतप्रतिशत सीमा, नागरिकता र प्रदेशको सीमाका सम्बन्धमा देखिएको विवादमा निर्णय दिन नसक्दा बैठक प्रभावित भएको हो ।
“दुई-तीन वटा विषय विशेष समितिले टुङ्ग्याउनु बाँकी छ, ती विषयको निक्र्याेल नभएका कारण एकीकृत प्रतिवेदन बनाउन सकिएन” मस्यौदा समितिका सदस्य अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिनुभयो । समिति मातहतको कार्यदलको बैठक मङ्गलबार अपराह्न १ बजेका लागि बोलाइएको छ । विवादित विषयमा शीर्ष तहमा सहमति नजुटेका कारण बैठक स्थगन भएको उहाँले जानकारी दिनुभयो ।
दलबीच सहमति भएमा कार्यदलले भोलि बुधबारसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । सहमति भएका विषयमा रहेको भाषागत त्रुटि सच्याउने र सरल तुल्याउने काम कार्यदलले सम्पन्न गरिसकेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदन र संविधानसभाको निर्देशनका आधारमा संवैधानिक तथा कानुनी भाषामा उतार गर्ने काम पूरा भएको छ । संविधानसभाले आजसम्मको समयसीमा तोकेर संविधानको मस्यौदाको विधेयक तयार पार्न निर्देशन दिएको थियो ।
विवादित विषयमा सहमति नभएका कारण संविधानसभाको समयमै काम सक्नुपर्छ भन्ने निर्देशन पनि प्रभावित हुन पुुगेको छ ।

Leave A Reply

Your email address will not be published.