ठग रोजगार व्यवसायीबाट आक्रमण

0

काठमाडौं, ३२ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले ठगी गर्ने केही वैदेशिक रोजगार व्यवसायीले कारबाहीमा पर्ने डरले आफूमाथि ‘भाडाका गुन्डा’ प्रयोग गरेर आक्रमण गरेको बताउनुभएको छ । उहाँमाथि यही साउन २७ गते एक समूहले आक्रमण गरेको थियो । विभागमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो पदीय दायित्वअनुसार वैदेशिक रोजगारमा जाने गरिब जनताका हितमा निःशुल्क टिकट, प्रवेशाज्ञा र अभिमुखीकरण संस्थाको अनुगमन र मुद्दा फछर्याटलगायत सुधारका काम गरिरहेका बेला कारबाहीमा पर्ने डरले आफूमाथि आक्रमण भएको जिकिर गर्नुभयो ।
कार्यालय आउने समयमा बाटामा पिछा गरेर बसेका पाँच छ जना युवकले आफूलाई मार्ने योजनामा आक्रमण गरेको बताउदै महानिर्देशक सुवेदीले भन्नभयो, “अपराधीले मेरो आँखा, अनुहार, टाउकोमा ढुङ्गा र अन्य हतियारले आक्रमण गरे ।” तीन महिनाअघि आफूले मिर्गौला प्रत्यारोपण गरेको जानकारी गराउँदै उहाँले आक्रमणपछि आफू बेहोस हुँदा आक्रमणकारी ‘अब यो मरिसक्यो’ भनेर छाडेर भागेको कुरा आफूले पछि चालकबाट थाहा पाएको बताउनुभयो । महानिर्देशक सुवेदीले आफूमाथि आक्रमण गर्ने अपराधीको प्रहरीले खोजबिन गरिरहेको जानकारी गराउँदै सञ्चारकर्मीलाई समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.