उपचारका लागि भारत जानुअघि झलनाथ खनालको आह्वान : ‘पार्टीलाई एकताबद्ध बनाऔं’

0

काठमाडौं : एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या भइ उपचारका लागि भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै उनले एकता सफलताको बाटो भएको तर फुट विनासको बाटो समात्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न भन्दै सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् ।

पार्टीलाई फुटतर्फ धकेल्ने नभई धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गरेमा सवै सफल हुने खनालको विज्ञप्तीमा उल्लेख छ । उनले देशको बिथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको उल्लेख गर्दै अन्तर संघर्षको पराकम्प तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै अहिले एमालेसम्ममा परेका बताएका छन् ।

उनले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू केही दिनका लागि देश बाहिर जान लागेको पनि बताएका छन् ।

थप उपचारका लागि भारत जानुअघि एमाले वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका थिए । खनाल उपचारका लागि भारत गएका छन् ।

Leave A Reply

Your email address will not be published.