रौतहटको चन्द्रपुरमा श्रीमानले श्रीमतीलाई प्रहार गरे एसिड

0

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ की ३८ वर्षीया दिपिका विक माथि एसिड प्रहार भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए ।

विकलाई उनकै श्रीमानले दिपक विकले एसिड प्रहार गरेका हुन् । घरमा झगडा परेपछि केही छिन बाहिर गएका दिपकले बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा दीपीकाले खोस्ने प्रयास गरेकी थिइन् ।

सोही क्रममा उनको हात र पेटको भागमा एसिड परेको घाइते दिपिकाले बताइन् । उनको चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

दिपिकाको शरिरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । उनको देब्रे हात र पेटमा एसिड परेको छ ।

पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमानले एसिड आक्रमण गरेका थिए । एसिड प्रहार गर्ने श्रीमान दिपकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक लामिछानेले जानकारी दिए ।

चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेका थिए । पक्राउ परेका विकलाई आवश्यक अनुसन्धान पछि कानून बमोजिमकको कारवाही हुने इलाका प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.