आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ : देउवा

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही भदौमा पार्टीको १४ औं महाधिवेशन भएरै छाड्ने बताउदै आफु महाधिवेशन गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु – २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु,’ देउवाले भनेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले महाधिवेशन गर्ने विषयलाई विवादीत बनाउने तथा कसैले महाधिवेशन चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्ती उचित नभएको समेत बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् ।’

सभापति देउवाले महाधिवेशनका विषयलाई लिएर कसैले भ्रममा पार्ने र कोही भ्रममा पर्ने काम नगर्न समेत आग्रह गरेका छन् । उनले पार्टीको महाधिवेशन भनेको कसैले कसैलाई दोषारोपण भन्दा पनि सवैले मिलेर सम्पन्न गर्ने कार्य भएको बताएका छन् ।

उनले सबै नेता र सदस्यहरु मिलेर महाधिवेशन सम्पन्न गर्ने लाग्नु पर्ने बताएका छन् । ‘यसका लागि सबै जिम्मेवार हुनु पर्दछ । हामीसँग अब बढी समय छैन । असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ,’ देउवाले भनेका छन,‘यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन् ।’

Leave A Reply

Your email address will not be published.