बन्दको विकल्प खोजिदैंन : कर्ण

0

काठमाडौं, ३२ साउन । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सीमांकनको विरोधमा भइरहेको आन्दोलन यथास्थितीमा नरोकिने प्रष्ट पारेका छन् । उनले आन्दोलनको विकल्प खोज्नेबारे आफूहरुले नसोच्नेसमेत बताए । इमेज एफएमले सोमबार बिहान लिएको अन्तर्वार्ताअनुसार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको ‘बकवास’ ले मुलुक यो अवस्थामा आएको आरोपसमेत लगाए । उनले भने, ‘गच्छदारकै बकवासका कारण मधेसको अधिकार गुमिरहेको छ ।’
उनले नयाँ संविधानको मस्यौदामा ‘ब्राम्हणवाद’ झल्किएको आरोपसमेत लगाए । ‘चार दलका बाहुनहरुले बाहुनका लागि लेखेको संविधान हामीलाई मान्य छैन,’ उनले भने । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेस र मधेसी जनतालाई छाडेर बाहुनको पक्षपोषण गरेकै कारण संविधानको मस्यौदामा जनताको रायसुझाव संकलनका क्रममा उनी सिरहामा एक घण्टा पनि टिक्न नसकेको कर्णको भनाई छ ।
उनले भने, ‘दाहालमात्र होइन, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि गौरमा टिक्न सक्नुभएन ।’ कर्णले संघीयताका नाममा ल्याइएको ६ प्रदेशको अवधारणा पुरानै पाँच विकास क्षेत्रको नयाँ रुप भएको बताए । उनले भने, ‘विरोध कार्यक्रम रोकिदैंन, यो नसच्याएसम्म विरोध अझ सशक्त तुल्याइन्छ ।’ उनले धर्मनिरपेक्षताका विषयमा जनताको असन्तुष्टि रहेको स्वीकार गर्दै धर्मनिरपेक्षताको सट्टामा ‘सर्वधर्म’ राख्न सकिने बताए ।
मधेसवादी दलसँग विगतमा भएको सम्झौता र अन्तरिम संविधानको मर्म विपरीत आउने संविधान आफूहरुलाई कदापी मान्य नहुने उनको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.