काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्रीमा नियुक्त भएलगत्तै बहुल राज्यको कुरा उठाएर विवादमा तानिएका महतोले एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति सच्याएका छन् ।
मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै बहुल राज्यको कुरा उठाएपछि महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो ।
महतोले विज्ञप्तिमा आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएकोमा ध्यानाकर्षण भएको लेखेका छन् ।
संविधानमा असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने महतोको भनाइ छ ।
