काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका माग मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाएकाले सरकारमा सहभागी भएको बताएका छन् ।
शनिबार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठाकुरले आफुहरुको केहिमाग पूरा भएको र केही माग पूरा हुन बाँकी रहेकाले सरकारमा सहभागी भएको बताएका हुन् ।
उनले आफुहरुले लामो समयदेखि राख्दै आएको मागलाई सकेसम्म पूरा गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएको जिकिर गरे ।
अध्यक्ष ठाकुरले रेशम चौधरीलाई लगाएको मुद्दा, नागरिकता लगाएतका विषय सरकारबाट सम्बोधन हुने क्रममा रहेको बताए । उनले केही व्यक्तिले नागरिकलाई राष्ट्रियतासँग जोडेर हेरेका कारण समस्या देखिएको धारणा राखे ।
कार्यक्रममा जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधानमा आवश्यक संशोधनको कामका लागि सरकारमा बसेर पहल गर्ने बताए । आफुहरुको माग मुद्दालाई पूरा गर्नका साथै पार्टीको आगामी मिसन प्राप्तिका लागि पनि सक्षमताका साथ काम गर्ने उनले बताए । महतोले पार्टीे विभाजित अवस्था देखिएकाले निर्वाचन आयोगबाट वैधानिकता लिने स्पष्ट पारे ।
नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पार्टीको नीतिलाई मुख्य ध्यान दिँदै काम गर्न पनि उनले निर्देशन दिए । त्यस्तै उनले हिमाल पहाड तराईका क्षेत्रबाट जसपाप्रति भरोसा हुने गरी जनताको सेवा लाग्ने जिकिर गरे ।