माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक, अनधिकृत बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन

0

काठमाडौं : नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाएको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।

पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउन नमिल्ने तामाङले जारी गरेको सूचनामा भनिएको छ ।

माधव नेपाल पक्षले बिहीबार बिहान ११ बजे भर्चुअल माध्यमबाट एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

यस्तै नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी एकता र आन्तरिक विवादबारे छलफल गर्न आज अपरान्ह ४ बजेपछि बैठक बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए ।

यसअघि आन्तिक विवादका कारण स्थायी कमिटीको बैठक पटक-पटक स्थगित हुँदै आएको छ । आन्तरिक विवाद मिलाउन एमालेका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

Leave A Reply

Your email address will not be published.