लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन : मुख्यमन्त्रीले मत हालेसँगै मतदान शुरु

0

दाङ : लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा भएको उपनिर्वाचनको मतदान शुरु भएको छ । दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलनकेन्द्रमा सोमबार बिहान ९ बजेदेखि मतदान शुरु भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मत हालेसँगै मतदान प्रारम्भ भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मतदान सकिए लगत्तै मत गणना शुरु हुने छ । मतगणना शुरु भएको एक घण्टामै परिणाम आउने आयोगको अनुमान छ ।

निर्वाचनमा प्रदेश सभातर्फका ७९ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन् ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाइने छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । प्रदेशका ७९ प्रदेशसभा सदस्यको तीन हजार ७९२ र स्थानीय तहका २१७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ६९८ मत छ ।

Leave A Reply

Your email address will not be published.