देउवाले किर्ते हस्ताक्षर बुझाए : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसविरूद्ध आक्रोश पोखेका छन् । आइतबार बालुवाटारमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले नेपाली कांग्रेस माओवादी केन्द्रको पछुवा बनेको आरोप लगाएका छ । प्रधानमन्त्री ओलीले आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर पछि पछि कुदेको आरोप लगाए ।

ओलीले प्रधानमन्त्री बन्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप लगाए । प्रधानमन्त्री ओलीले माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त गर्न खोजेको र नसकेपछि अहिले बाटो बदलेर लोकतन्त्रको कुरा गर्न थालेको भन्दै कांग्रेस अहिले माओवादीका पछि पछि लागेको आरोप लगाए ।

ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र पनि बिग्रह ल्याउन खोजेको बताए । उनले दलिय व्यवस्थामा अरू पार्टी फुटाएर बागी विद्रोही सिर्जना गरेर लोकतन्त्र बलियो हुन्छ भनि प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक झमेला छाडेर अहिले कोरोना महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन सबै दललाई आग्रह पनि गरे । ओलीले कोरोनाले आक्रान्त पारेको अवस्थामा देशका राजनीतिक शक्ति, नागरिक समाज लगायतलाई राजनीतिक झमेला छाडेर जनताका समस्या समाधानतिर केन्द्रित हुन आग्रह गरे ।

ओलीले संविधान अनुसार बहुमत प्राप्त भयो कि भएन भनेर जाँच्ने एकल अधिकार राष्ट्रपतिलाई रहेको जिकिर गरे । उनले राष्ट्रपतिको यो कदमका विरुद्ध कतै पनि उजुरी नलाग्ने बताए ।

Leave A Reply

Your email address will not be published.