१४९ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गर्ने विपक्षी गठबन्धनको निर्णय

0

काठमाडौं : माधव नेपालसहितका विपक्षी गठबन्धनले मध्यरातमा संसद् विघटन गरेर निर्वाचनमा जाने कदम प्रतिगमन भएको भन्दै  कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेको छ । 

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटन गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसलाई कानूनी र राजनीतिक प्रतिवाद गरेर संघर्ष गर्ने निर्णय गरेको हो ।

विपक्षी दलले १४९ सांसदको हस्ताक्षरसहित आइतबार रिट दायर गर्ने निर्णय पनि गरेको छ । प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न कटिबद्ध रहेको बैठकपछि जारी संयुक्त बक्तव्यमा उल्लेख छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेको बक्तव्यमा संसद विघटन गर्ने कार्यको भत्र्सना र निन्दा गरिएको कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिए ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  राजनीतिक र कानूनी रुपमा लगाई लड्ने बताए । उनले आइतबार १४९ सांसदहरु सर्वोच्चमा जाने जानकारी दिए । फेरि संसद पुनःस्थापना भएर लोकतन्त्र सही ट्रयाकमा जाने उनले बताए ।  प्रचण्डले विगतमा संसद् विघटन निरंकुश र प्रतिगमनकारी कदम भनेर सडक र अदालतमा जाँदा पुनस्थापना भएको बताए ।  

अध्यक्ष प्रचण्डले कोरोना महामारीको बेला देशलाई दुर्घटनामा लगेको जनताले नसहने उल्लेख गरे ।  निर्वाचन गर्नका लागि घोषणा नगरिएको भन्दैै उनले निर्वाचनको अर्थ नरहेको उल्लेख गरे । 

शुक्रबार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.