प्रतिनिधिसभा विघटन गरिएकोमा चौतर्फी विरोध

0

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्व नियोजित षड्यन्त्र श्रृंखलाको क्लाइमेक्स भएको बताएको छ । साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न शनिबार बैठक बोलाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए । उनले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको मध्यावधि चुनाव प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने बताएका छन् । ‘बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्रीजी’, उनले ट्वीटरमा लेखेका छन्, ‘महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ । संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्नेछ ।’ कोभिड १९ महामारीका बेला चुनाव घोषणा गर्नु आपत्तिजनक भएको शर्माको भनाइ छ । 

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन् । आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यात्ने काम भएको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो ।’

यसैबीच नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस्ता असंवैधानिक र निरंकुश कदम चाल्न मध्यरातको समय रोज्ने गरेको भन्दै पूर्वमन्त्री पुनले मध्यरातमा संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरिनु आपत्तिजनक भएको बताए ।

‘मध्यरातमा डकैती गरियो’, पुनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

कांग्रेस नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदको मर्यादा विपरीत संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् । उनले राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने तर्क गरेका छन् । ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन् । यीनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।’

Leave A Reply

Your email address will not be published.