राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटा मुख्य प्रतिस्पर्धामा

0

काठमाडौं : बागमती प्रदेशमा खाली रहेको राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ , कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले उक्त पदमा उपचुनाव हुन लागेको हो ।

एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।

यो उपचुनावमा बागमती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता कायम रहेको आयोगले जनाएको छ ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटौँडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ । मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपचुनावमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । 

Leave A Reply

Your email address will not be published.