गण्डकीमा मन्त्रिपरिषद् विस्तार, पुनर्नियुक्ति पाएका मन्त्रीले लिए शपथ

0

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले शपथ लिएका छन् । बाँकी तीनजनालाई बिनाविभागीय मन्त्री बनाइएको छ ।

मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई बिनाविभागीय मन्त्री बनाएका हुन् ।

सरकारविहीनताको अवस्था हुँदा गण्डकीमा बजेट निर्माण नै प्रभावित भइरहेको छ । कोरोना संक्रमित भएरै दोस्रो कार्यकालको शपथ लिएका मुख्यमन्त्री गुरूङले २९ गते नै मन्त्रिपरिषद गठन गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए ।

मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् । १२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको थियो ।

मुख्यमन्त्री गुरूङले अब मन्त्रालय फुटाएर १० वटा पुर्‍याउन लागेको बताइएको छ । उनले दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् । उनी बाहिर रहेकाले शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे ।

Leave A Reply

Your email address will not be published.