कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी

0

एजेन्सी : भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले सोमबार ‘२–डीजी’ नामक औषधि सार्वजनिक गरे ।

यसलाई भारतमा कोभिड-१९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो ।

यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।

यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो । डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डक्टर रेड्डीज लेबोरेट्रीजको साथमा मिलेर यो औषधि तयार पारेको हो ।

यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ ।

भारतमा कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्ली सहित देशका कैयौं राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औषधिले सहयोग गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.