केही विभाजनकारी व्यक्तिका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन : प्रधानमन्त्री

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने प्रयास सफल हुन नसकेको बताएका छन् ।

२८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले केही विभाजनकारी, अस्थिर र अवसरवादी सोचका व्यक्तिका कारण लक्ष्य पूरा हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले तीन वर्ष अगाडि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण भएपनि सफल हुन नसकेको उल्लेख गरेका छन् । कतिपय नेताहरुको विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मदन–आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय रहेकोसमेत बताएका छन् । कतिपय विरोधीहरुले नेताद्वयको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलन ओह्रालो लाग्दै समाप्त हुने भविष्यवाणीसमेत गरेको तर सबै अनुमान र भविष्यवाणी गलत सावित भएको उनको भनाइ छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आजै चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा निधन भएको थियो ।

No description available.
Leave A Reply

Your email address will not be published.