आज मदन–आश्रित स्मृति दिवस

0

काठमाडौं : आज जेठ ३ गते अर्थात् मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २८ वर्ष पूरा भएको छ ।

उक्त दिनको सम्झनामा नेकपा एमालेले हरेक वर्ष कार्यक्रम आयोजना गरी दुवैले दिएको योगदानको स्मरण गर्दै स्मृति दिवस मनाउँदै आएको छ ।

एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमाथि माल्यापर्ण गर्नेछन् ।

एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले बिहान साढे सात बजे प्रधामन्त्री ओली बुल्खु पुगेर श्रद्धाञ्जली मदन–आश्रिप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

पोखराबाट सभा सम्पन्‍न गरेर चितवन आउँदै गर्दा दुई नेता चढेको जीप चितवनको दासढुङ्गा भन्‍ने स्थानबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए ।

लामाको पनि २०६० सालमा हत्या भएपछि घटना थप रहस्यमय बनेको थियो । त्यसपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

Leave A Reply

Your email address will not be published.