डोल्पाका सभासद् खोइ !

0

डोल्पा, २९ साउन । डोल्पा जिल्लामा प्रान्तिय राजधानी सुर्खेत माग गर्दै सशक्त बनेको डोल्पा बन्द कार्यक्रमको आज पाँचौं दिन पुगेको छ ।
त्यस्तै, कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्ला, हुम्ला, मुगु, कालीकोटमा पनि व्यापक आन्दोलनका कार्यक्रम भइरहेका छन् । यसरी कर्णालीको अस्तित्व मेटाउन खोजिएको भन्दै कर्णालीमा दन्किएको आगोले मुगु, हुम्ला, जुम्ला, कालीकोटका सभासद्को मन पोले तापनि डोल्पाका सभासद्को मन भने नपोलेको स्थानीयको गुनासो छ ।
कर्णाली जोगाउनका लागि अन्य जिल्लाका सभासद्ले देखाएको चासो तथा प्रतिबद्धतालाई देख्दा कर्णालीवासीले डोल्पाका सभासद्लाई संसद्मा खोज्न थालेका छन् । कर्णालीको अस्तित्व जोगाउन सबै जुट भन्दै पाँच जिल्लामा हजारौँको सङ्ख्यामा कर्णालीवासी सडकमा आउँदा डोल्पाका सभासद् धनबहादुर बूढा भने बेखबर भएको डोल्पालीले बताएका छन् ।
दुखेको कर्णालीको सहयोग समर्थनका लागि चार जिल्लाका सभासद्ले विभिन्न कार्यक्रम, सञ्चारमाध्यममार्फत तथा संसद्मा पनि राज्यसँग कर्णालीवासीको माग सम्बोधन गर्न माग गर्दा डोल्पाका नेकपा (एमाले)का वर्तमान सभासद् बूढाले भने कर्णाली विषयमा भने केही नबोलेकाले डोल्पालीको मन दुखेको स्थानीय समाजसेवी ज्योतिप्रसाद पहाडीले बताउनुभयो । अनिश्चित्कालीनरुपमा आह्वान गरिएको कर्णाली बन्द कार्यक्रमअन्तर्गत डोल्पामा पनि आन्दोलनलाई थप सशक्त बनाइएको छ ।
डोल्पाका सम्पूर्ण व्यवसायी, नागरिक समाज तथा सरोकारवाला पक्षले आन्दोलन चर्काउँदा सभासद् बूढाले चासो नदेखाएपछि सभासद्ले डोल्पा बिर्सेको अनुभूति डोल्पालीले गरिरहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बूढाले बताउनुभयो । कर्णाली दुख्दा अन्य जिल्लाका सभासद्ले देखाएको जिल्लाप्रतिको उत्तरदायित्व देख्दा डोल्पाका सभासद् भने मौन भएकोमा डोल्पालीको आशा निरासामा परिणत भएकोसमेत उहाँले बताउनुभयो ।
दोस्रो संविधानसभाको चुनावमा डोल्पामा छिटोभन्दा छिटो मोटर बाटो पु-याउने, सिटामोल नपाई अकालमै ज्यान गुमाउने डोल्पालीलाई जिल्लामै सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग मागराख्ने प्रतिबद्धता व्यक्त गर्दै चुनाव लडेका बूढालाई भारी मतले डोल्पालीले जिताएका थिए ।
सभासद् जितेर गएलगत्तै मुश्किलले १० देखि १२ पटकभन्दा पनि कम आफ्नो काम विशेषले डोल्पा आएका सभासद्ले भने अहिलेसम्म पनि संसद्मा डोल्पाको विकास विषयमा एक शब्द पनि नबोलेकाले डोल्पालीको मन दुखेकोसमेत डोल्पालीले बताएका छन् । उहाँले डोल्पाको विकास र डोल्पालीको टड्कारो समस्यामा चासो नदेखाएको अधिकांश नागरिक अगुवाको बुझाइ रहेको छ । यसरी कर्णाली स्वायत्त प्रदेश माग गर्दै चर्काइएको आन्दोलन प्रदर्शनका थप कार्यक्रमले कर्णालीको जनजीवन अस्तव्यस्त बनेको छ ।

Leave A Reply

Your email address will not be published.