प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्ष कांग्रेससँग प्रस्ताव राखेका छन् ।

बुधबार कांग्रेस सभापति देउवा निवास पुगेर प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि सहयोग मागेका हुन् ।

लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएकाले सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिपक्ष भएकाले आफुहरुले  सहयोग गर्न नसक्ने कुरा स्पष्ट राखेको महतले बताए । लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम सरकारबाटै भएको समेत आफुहरुले बताएको उनले जानकारी दिए । त्यस्तै सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको र अहिले त्यो अवस्था नै नभएको बताएको पनि उहाको भनाइ छ ।

छलफलका क्रममा कोरोनाको अवस्था र उपचार व्यवस्था कमजोर हुँदा जनताले जीवन गुमाउनुपरेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको महतले बताए ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङ देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो ।

प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.