जुलाई ४ सम्म ७० प्रतिशत अमेरिकीलाई खोप लगाउने बाइडेनको योजना सार्वजनिक

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्मा ७० प्रतिशत वयश्क अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका छन् ।

यस्तै जतिसक्दो चाँडो १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशारीलाई पनि खोप दिन सुरु गर्ने योजना राष्ट्रपति बाइडेनले बनाएका हुन् ।

स्वतन्त्रता दिवस (जुलाई ४) सम्ममा देशका १६ करोड वयश्कलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइ सक्ने नयाँ लक्ष्य बाइडेनले तय गरेका हुन् ।

अहिलेसम्म १० करोड ५० लाख अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप लगाइ सकेका छन् । दैनिक १० लाख मानिसले खोप लगाइरहेका छन् । तर अहिले खोप लगाउने दर तीन हप्ता पहिले भन्दा आधा भएको छ ।

खोपलाई लिएर शंकामा रहेका तथा खोपको विरोध गरिरहेकाहरुलाई पनि बुझाउने प्रयास भइरहेको बाइडेन प्रशासनले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोप अभियानमा विश्वमै राम्रो गरेको इजरायलमा ६० प्रतिशत भन्दा बढि मानिसले खोपको कम्तीमा एक मात्रा लगाउँदा नै संक्रमण लगभग शून्यमा झरेको छ र त्यहाँ अधिकांश प्रतिबन्धहरु फुकुवा भएका छन् ।

अबको दुई महिनामा देशको स्वतन्त्रता दिवससँगै कोरोना भाइरसबाट स्वतन्त्र वा मुक्त भएको दिवस मनाउने लक्ष्य रहेको राष्ट्रपति बाइडेनले बताएका छन् ।

यसैबिच अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले १२ वर्षभन्दा माथिकालाई कोरोना भाइरसविरुद्धको फाइजरको खोप प्रयोगका लागि स्वीकृति दिने तयारी गरेको छ । सो स्वीकृति प्रदान भए लगत्तै १२–१५ वर्षसम्मकालाई पनि खोप दिने योजना बाइडेनले बनाएका हुन् ।

Leave A Reply

Your email address will not be published.