महानिर्देशक सुवेदीमाथि आक्रमण गर्नेको पहिचान

0

काठमाडौँ, २८ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि आक्रमण गर्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आक्रमणमा संलग्नको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य जारी रहेकोले छिट्टै पक्राउ पर्ने जानकारी दिनुभयो ।
सुवेदी हिजो बिहान घरबाट कार्यालय आउँदै गर्दा बालाजु हाइटमा पाँच जनाको समुहमा आएका व्यक्तिले ढुङ्गामुढा गरेर फरार भएका थिए । ढुङ्गाप्रहारबाट गाडीको शिशा फुट्दा सुवेदीलाई सामान्य चोट लागेको छ । परिसरका प्रवक्ता पोखरेलका अनुसार आक्रमणकारीले घटनास्थलमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको पर्चा छोडेर गएका छन् । केही समयअघिमात्रै मिर्गौला प्रत्यारोपण गरेका सुवेदी शारीरिक रुपमा कमजोर हुनुहुन्छ ।
आक्रमण लगत्तै बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार गराउनुभएका सुवेदीको थप उपचारका लागि ललितपुरस्थित मिदान्त अस्पतालमा भर्ना हुनुभएको छ । वैदेशिक रोजगार विभागमा पछिल्लो समय खाडीका छ मुलुक र मलेसियामा निशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था कार्यान्वयनमा कडाइ गरेपछि केही म्यानपावर व्यवसायी सुवेदीसँग आक्रोशित थिए । आक्रमणकारी माओवादीनै हुन् वा व्यवसायीले प्रयोग गरेका व्यक्ति हुन् त्यो बारेमा छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.