काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवि प्रति सुख, शान्ति र समृद्धिको शुभकामना दिएकी छन् ।
राष्ट्रपति भण्डारीले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छन् ।
यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीविलाई एकताका सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।
महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकप्रति धन्यवाद व्यक्त गर्दै उनीहरुको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकृष्ट गरेकी छन् ।
उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने पनि सन्देशमा उल्लेख गरिएको छ ।