लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

0

काठमाडौं : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी वैशाख १९ गते बोलाइएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराएका थिए । त्यसलगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए ।

लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । उक्त अविश्वासको प्रस्तावको टुंगो लगाउन प्रदेश प्रमुखले वैशाख १९ गते विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भइसकेको र सभामुखसँगको छलफलपछि सूचना प्रकाशित गरिने बताए ।

८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएपछि ८५ सदस्यीय भएको छ । जसमा मुख्यमन्त्री पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् ।

अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका सभामुखसहित १८ र नेपाली कांग्रेसका १९ सांसद छन् । जसपाका ६ सांसदमध्ये अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ जना र हस्ताक्षर नगरेका २ जना गरी ४ जना मन्त्री बनेका छन् ।

Leave A Reply

Your email address will not be published.