मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव टेबुल, मंगलबार मतदान

0

पोखरा : गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री गुरुङले प्रतिगमनको पक्षमा वकालत गरेको र प्रतिगमनलाई साथ दिँदै आएको आरोप लगाए ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाको रोष्टममै उभिएर वीपी कोइराला नेतृत्वको सरकारले दुई तिहाई हुँदा हुँदै संसद विघटन गरेको, गिरिजाप्रसाद कोइरालाले बहुमत हुँदा हुँदै प्रतिनिधिसभा विघटन गरेको तर्क गरेकोमा पोखरेलले आपत्ति जनाएका थिए ।

मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार मतदान हुने भएको छ ।

प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायत केही सांसदले छलफलमा भाग लिएपछि प्रदेशसभा बैठक मंगलबार दिउँसो १२ः१५ सम्मका लागि स्थगित भएको छ।

Leave A Reply

Your email address will not be published.