राष्ट्रियसभाकाे एक पदका लागि ६ गते निर्वाचन

0

गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले राष्ट्रिय सभाबाट निष्कासित गरेपछि रिक्त रहेकाे एक सिटका लागि जेठ ६ गते चुनाव हुने भएकाे छ ।

वाग्मती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित थापा मगरको रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि छ महीनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त पदको बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने कानूनी व्यवस्था छ ।

कानूनी व्यवस्थाबमोजिम सरकारको निर्णय अनुसार निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ यही वैशाख १० देखि १४ गतेसम्म आयोगमा निवेदन दिन सूचना गरिएको छ ।

उपनिर्वाचनको घोषणासँगै आयोगले विहीबारदेखि नै उपनिर्वाचन तयारीसम्बन्धी कार्य प्रारम्भ गरेको पनि प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

Leave A Reply

Your email address will not be published.