प्रधानमन्त्री ओलीद्वारा बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन् ।

१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख बिष्णु रिमालले जानकारी दिए । नेकपाकालमै भवन निर्माण गर्ने भनिए पनि पार्टीभित्रै किचलो भइरहेकाले थाति रहेको रहेको थियो ।

रिमालका अनुसार २ महिनाभित्र माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने र त्यसपछि निर्माण शुरु गरिनेछ । सामान्यतः दुई वर्षभित्र भवन निर्माण सकिने उनले बताए । अहिले करीव १३ रोपनी जग्गाको डिजाइन तयार पारिएको छ भने एमालेले कार्यालयको क्षेत्र विस्तार गर्ने योजना पनि बनाइरहेको छ ।

२०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । 

भवन शिलान्यास गर्दै  प्रधानमन्त्री ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताए ।

पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता माधवकुमार नेपाल लगायतलाई संकेत गर्दै ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए ।

‘हामी सम्झाइबुझाइ गरिरहेका छौं । हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं ।’

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई उनले अराजकता भने । उनले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताए ।

Leave A Reply

Your email address will not be published.