फ्लोर क्रस गर्ने एमालेका चार सांसदालाई कारबाहीको सिफारिस

0

सुर्खेत : माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद जोगाइदिने नेकपा एमालेका चार जना सांसदलाई कारबाहीको सिफारिस गरिएको छ ।

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो ।

तर, शुक्रबार भएको मतदानमा एमालेबाट निर्वाचित चार जना सांसदले फ्लोर क्रस गरेका थिए । त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

कारबाहीको सिफारिसमा पर्ने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाही रहेका छन् । उनीहरुलाई कारबाहीको सिफारिस गरिएको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । ‘उहाँहरूलाई दलीय व्यवस्था र ऐन अनुसार गर्न मिल्ने कारबाही गरिएको छ,’ उनले भने । 

सांसद ज्वाला यसअघि आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो । जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए । कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने सत्ताको खेलमा भने तटस्थ बसेको थियो ।

मतदानका क्रममा सांसद देवी ओलीले आफ्नो मत भने सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा पहिले मतदान गरेकी ओलीले पछि विपक्षमा मतदान गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.