कांग्रेस र माओवादी केन्द्रको पहलमा गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै

0

काठमाडौं : नेपाली कांग्रेस र माओवादी केन्द्रको पहलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएको छ ।

कांग्रेस र माओवादी केन्द्रबीच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति अनुसार आज गढडकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने भएको हो । सहमति अनुसार पहिलो चरणमा गण्डकी प्रदेश सरकारविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ताको तयारी थालिएको छ ।

राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ताको घोषणा गरेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

गण्डकी प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति दुवै पार्टीको शीर्ष तहमा बनिसकेको छ । गण्डकीमा नयाँ मुख्यमन्त्रीका रुपमा कांग्रेसले कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सार्ने भएको छ ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । हाल उनी गण्डकी प्रदेशसभामा मुख्य विपक्षी दलको नेताका रुपमा रहेका छन् । गण्डकी प्रदेशसभामा रहेका ६० मध्ये मुख्यमन्त्री गुरुङलाई नेकपा एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङेको मात्र समर्थन रहेको छ ।

यसैबीच लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन समेत कांग्रेस र माओवादीले गृहकार्य थालेका छन् । कांग्रेस र माओवादीले जसपाको साथ लिन सकेको अवस्थामा मुख्य मन्त्री पोखरेल स्वत अल्पमतमा पर्छन् । कांग्रेस र माओवादीबीच लुम्बिनीमा माओवादी सांसद कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउने सहमति भएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.