माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई गर्‍यो सिफारिस

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस गरेको छ ।

केपी ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको हो ।

माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्र प्रदेश २ को संसदीय दलका नेता भरत साहले जानकारी दिए ।

चारै जना प्रदेश सभा सदस्यलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइसकिएको उनले बताए ।

नेकपा एमालेमा लागेपछि पार्टी केन्द्रीय समितिले उनीहरुलाई स्पष्टिकरण सोधेको थियो । २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिए पनि नदिएपछि उनीहरूलाई पदमुक्त गरिएको हो ।

माओवादी केन्द्रको प्रदेश सभामा ११ जना सांसद थिए । यसअघि माओवादी केन्द्रले ओली समूहमा लागेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी पाँच जना सांसदलाई पनि पदमुक्त गरेको थियो ।

Leave A Reply

Your email address will not be published.