तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

0

काठमाडौँ : सरोकारवालाहरुले कोभिड-१९ को कारण देखाएर देशभरका शिक्षण संस्था बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन् । 

सोमबार शिक्षा मन्त्रालयमा भएको बैठकमा सरोकारवालाहरुले हचुवाका भरमा देशभरका विद्यालय बन्द गर्ने र पटक पटक स्थानीय तहको अधिकार मिच्‍ने काम नगर्न मन्त्रालयलाई सुझाव दिएका हुन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहको भएकाले हस्तक्षेप नगर्न आग्रह गरे । यसअघि जस्तो प्रेस विज्ञप्ति निकालेर विद्यालय बन्द गराउने निर्णयको अवज्ञा गर्ने उनले चेतावनी दिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पनि कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने बताए । सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने बताए ।

निजी विद्यालय सञ्‍चालकहरूको संस्था प्याब्सनले पनि विद्यालय बन्द नगर्न आग्रह गरेको थियो । कोभिड १९ संक्रमणको क्षेत्र हेरेर स्थानीय तहले विद्यालय बन्द गर्न सक्ने अधिकार सुरक्षित रहेकाले शिक्षा मन्त्रालयले एकैपटक सबै विद्यालय बन्द गर्न नहुने सुझाव सरोकारवालाले दिएको बैठकमा सहभागी राष्ट्रिय अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले बताए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा शिक्षण संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे सरोकारवालाहरुसँग छलफल आयोजना गरिएको हो । छलफलमा मन्त्री कृष्णगोपाल श्रेष्ठ भने अनुपस्थित थिए । 

Leave A Reply

Your email address will not be published.