५ वर्षमा थपिए १०७ गैँडा

0

काठमाडौं : नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा दुर्लभ वन्यजन्तु गैँडाको संख्यामा वृद्धि भएको छ । यस वर्ष गरिएको गणनाका क्रममा नेपालमा गैँडाको संख्यामा वृद्धि भएको पाइएको हो ।  

पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको संख्या ७५२ पुगेको जानकारी दिए । 

यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो । सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । 

शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१५ मा ६०५ गैँडा थिए । 

पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको संख्यामा वृद्धि भएको ओलीले बताए । ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ । 

त्यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको ओलीले बताए । पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैँडा फेला परेको ओलीले बताए । अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो । 

राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएका छन् ।  बाँकी ४०८ गैँडाको लिङ्ग पहिचान हुन सकेको छैन । 

लिङ्ग पहिचान भएकामध्ये पर्सा राष्ट्रिय निकुञ्जमा १ भाले तथा १ पोथी, चितवन राष्ट्रिय निकुञ्जमा १२८ भाले तथा १७४ पोथी, बर्दिया राष्ट्रिय निकुञ्जमा १४ भाले तथा १९ पोथी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३ भाले र ४ भाले गैँडा भेटिएका छन् । लिङ्ग पहिचान हुन नसकेकामध्ये पर्सामा १, चितवनमा ३९२, बर्दियामा ५ र शुक्लाफाँटा राष्ट्रिय किकुञ्जमा १० गैँडा छन् । 

गणनाका क्रममा ५२० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैँडा भेटिएको वन मन्त्रालयका सचिव ओलीले जानकारी दिए । पर्सामा २ वयस्क तथा १ बच्चा, चितवनमा ४७४ वयस्क, ९५ अर्धवयस्क तथा ६ बच्चा, बर्दियामा ३१ वयस्क, १ अर्धवयस्क तथा ६ बच्चा र शुक्लाफाँटामा ३१ वयस्क र ४ बच्चा गैँडा फेला परेका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताए । गणना सकिएपछि शुक्रबार र शनिबार तथ्याङ्क सङ्कलन तथा प्रविष्ट गर्ने काम भएको उनको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिए । गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएको तथा एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार हुँदै गरेको उनले बताए । 

हात्तीले आक्रमण गरेपछि एक दिन र होलीको दिनमा गैँडा गणना हुन नसकेक पनि अन्य दिन बिहान ५ बजेदेखि राति अबेरसम्म गणना गरिएको खरालले जानकारी दिए । पर्सा र चितवनलाई १९ ब्लकमा विभाजन गरेर गैँडा गणना गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.