पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित

0

काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९ सय४२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी छिन् ।

अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।

त्यसैगरी पोख्रेल प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द्रप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् ।

सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोखरेल समूहका हुन् ।

यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने, सदस्यहरुमा सरिता तिम्सिना (खस आर्य), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति) लगायत निर्वाचित भएका छन् । महासंघले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नयाँ नेतृत्व चयन गरेको छ ।

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारी सहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।

अध्यक्ष पोखरेलको प्रतिवद्धता

अध्यक्षमा निर्वाचित पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाए ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए । यस्तै श्रमजीवि पत्रकारहरुको हक हितका मुद्दाहरुलाई अगाडी लैजाने सम्बन्धमा आफूले कहिं कतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए ।

त्यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिवद्धता जनाए । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि उनले बताए ।

Leave A Reply

Your email address will not be published.