तीन दल बैठक : आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि माओवादी र जसपासँग औपचारिक प्रस्ताव राखेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बसेको कांग्रेस सहित माओवादी र जसपाको बैठकमा कांग्रेसले नयाँ सरकार आफ्नो पार्टीको नेतृत्वमा बनाउन पहिलो पटक औपचारिक प्रस्ताव गरेको हो ।

केपी ओली सर्वसत्तावादी भएकाले स्वतन्त्र चुनाव नहुने भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले प्रस्ताव राखेको नेताहरुले जनाएका छन् । जवाफमा माओवादी सकारात्मक देखिएको छ । जसपाले भने पार्टीभित्र आन्तरिक छलफल गरेर निर्णयमा पुगिने बताएको छ ।

त्यस्तै माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा आफूहरुको धारणा बुझेको बताए । श्रेष्ठले कांग्रेसको सरकार बनाउने प्रस्ताव स्वागतयोग्य भन्दै आफूहरु ओलीको विकल्पमा अर्को सरकार बन्नुपर्ने पक्षमा रहेको बताए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार बनाउनुपर्छ भन्नेमा एकमत बनाउने प्रयास भएको बताउँदै नयाँ सरकारबारे जसपाको निर्णयपछि थप निष्कर्षमा पुग्ने जानकारी दिए ।

बैठकमा सत्ता समिकरणका बारेमा निरन्तर छलफल गर्ने सहमति भएको नेताहरुले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.