एस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘अति दुर्लभ’

0

एजेन्सी : विज्ञहरुले असामान्य रुपमा देखिने रगत जम्ने समस्यालाई कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको अति दुर्लभ असरका रुपमा सूचीकृत गर्नु पर्ने बताएका छन् ।

युरोपियन युनियनको औषधि नियामक निकायले कोभिड–१९ खोपको निकै दुर्लभ अर्थात अति कम मात्रामा हुने असरका रुपमा रगत जम्ने समस्यालाई राखिनु पर्ने बताएको हो ।

युरोपमा खोप लगाएपछि देखिएको रगत जम्ने समस्यामा ८६ घटनाको अध्ययन गरेर युरोपियन मेडिसिन्स एजेन्सी (इएमए)ले खोपबाट हुने सकारात्मक फाइदाको तुलनामा असर निकै नगन्य रहे पनि दुर्लभ समस्याका रुपमा सूचीकृत गरिनु पर्ने निष्कर्ष निकालेको हो ।

इएमएले रगत जम्ने जोखिम कुन उमेर समूह वा लिंगका व्यक्तिमा हुन्छ भन्ने चाहि खुलाएको छैन । तर, रगत जम्ने समस्या ६० वर्ष मुनिका महिलाहरुमा देखिएको बताइएको छ ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि रगत जम्ने समस्या खोपसँग जोडिएको भए पनि पुष्टि नभएको र यस्ता घटना निकै दुर्लभ रहेकाले खोपमा शंका नगर्न आग्रह गरेको छ ।

विश्वभर हालसम्म २० करोड भन्दा धेरैमा अक्सफोर्ड एस्ट्राजेनेकाको खोप लगाइएको छ । यसअघि बेलायतमा बालबालिकामा भइरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको परीक्षण तत्कालका लागि रोकिएको थियो ।

Leave A Reply

Your email address will not be published.