कांग्रेसभित्र कुनै किसिमको विवाद छैन : सभापति देउवा

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् ।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताएका हुन् ।

नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताएका हुन् ।

उनले पार्टीका नेता कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन पनि आग्रह गरे । उनले भने, ‘नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं । आफैंले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’

त्यस्तै सभापति देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताए । उनले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । 

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले थालेका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।

Leave A Reply

Your email address will not be published.