महिलामा अझै मनोसामाजिक समस्या

0

बनेपा, २५ साउन । भूकम्प गएको तीन महिना बितिसक्दा पनि मनोसामाजिक समस्याले महिला पीडित भएको देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आइतबार सञ्चालन भएको शिविरको मनोविमर्स कार्यक्रममा करिब ३२ वर्ष माथिका अधिकांश महिलामा त्यस्तो समस्या देखिएको तामाङ महिला घेदुङकी अध्यक्ष मायालु तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार खासगरी भूकम्पका कारण टोलाउने, एक्लै बस्न रुचाउने, बेलाबेलामा झस्किरहने र खाना खान मन नलाग्ने मनोसामाजिक समस्या महिलामा देखिएको छ । सो कार्यक्रममा आएकामध्ये केही पुरुषमा समेत त्यस्तो समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष तामाङले भूकम्प पछि पनि पर्नसक्ने सम्भावित जोखिमका बारेमा समेत पीडितलाई जानकारी गराइएको बताउनुभयो ।
कार्यक्रममा भूकम्पपछि अपनाउनुपर्ने सचेतना, कानुनी परामर्शलगायत स्थानान्तरण हुँदा पर्नसक्ने सम्भावित जोखिमका बारेमा पनि जानकारी गराइएको थियो । पाँचखालमा भएको सो कार्यक्रममा देवभूमि बालुवा, अनेकोटलगायतका स्थानबाट १३५ जना सहभागी भएका थिए । गैरसरकारी संस्था टिपीओ नेपाल, पिपीआर, ल्याक र महिला घेदुङले सो कार्यक्रमको आयोजना गरेको थियो ।
अध्यक्ष तामाङले पुनः जिल्लाको महादेवस्थान, पोखरीनारायणस्थान र कासीखण्ड नगरपालिकामा समेत शिविर स्थापना गरी भूकम्पपछि आउन सक्ने सम्भावित जोखिमका बारेमा जानकारी दिइने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.