पार्टी मिलाइदिने काम अदालतको होइन : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको टिप्पणी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने समेत बताए । पार्टी फुटको विषयमा अदालत नभई निर्वाचन आयोग जान पनि उनले सुझाव दिए ।

ओलीले आफू नेतृत्वको सरकारले जनपक्षीय काम गर्दा हटाउन खोजेको आरोप लगाए । विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको र हटाउन खोजेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्‍यो भन्न नहुने धारणा राखे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा संकट नपरेको जिकिर गर्दै चुनाव भएर संकट पर्ने हो भने २० महिनापछि देशमा संकट पर्ने हो ? भन्दै प्रश्न गरे ।

उनले आगामी आर्थिक वर्षबाट वृद्धभत्ता बढ्ने जानकारी दिए । उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

रिपोर्टर्स क्लबको वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो ।

यस्तै  ५० हजार रुपैयाँ राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो ।  

‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो ।

‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकारबाट डिसी नेपालका सहसम्पादक मदन कोइराला, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा लगायत सम्मानित भए ।

Leave A Reply

Your email address will not be published.