आन्तरिक छलफलमा जुट्दै नेपाल-खनाल समूह

0

काठमाडौं : नेकपा एमाले नेपाल–खनाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक आज बस्दैछ । अध्यक्ष केपी ओलीले बरिष्ठ नेता माधव नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि सो समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बस्न लागेको हो ।

बैठक मध्यान्ह १२ बजेपछि बस्ने बताइएको छ । बैठकमा ओलीविरुद्ध रणनीति बनाउने नेपाल पक्षको योजना छ । नेपाल पक्षले तत्कालै पार्टी विभाजनभन्दा पनि तल्लो तहसम्म समानान्तर समिति बनाउने तयारी गरेको छ ।

ओलीले एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग पनि दोस्रो पटक स्पष्टीकरण मागेका छन् । गत चैत ७ गते बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेता नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेपाल पक्षले ओलीको षड्यन्त्रलाई विफल पार्न देशभरका कार्यकर्तालाई आव्हान गरेको छ । वरिष्ठ नेता नेपालले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि समेत आह्वान गरिसकेका छन् । नेपालले सोमबार पुष्पकमल दाहालका साथै सिपी गजुरेल र मोहन वैद्यसँग छलफल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.