चीनले अनुदानमा उपलब्ध गराएको खोप काठमाडौं आइपुग्यो

0

काठमाडौं : चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठा लाख मात्रा कोरोना खोप लगायतका सहायता सामग्री काठमाडौं आइपुगेको छ ।

खोप लिएर नेपाल बायुसेवा निगमको वाइडबडी जहाज विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

त्रिभुवन विमानस्थलमा खोप स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बुझेका छन् । नेपाल आइपुगेको खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्ने बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएपछि खोप लगाउन शुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ ।

औषधि व्यवस्था विभागले भने सो खोप यसअघि नै आकस्मिक प्रयोगका लागि स्वीकृत गरिसकेको छ । नेपाल भित्रिएको खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी लगाउने भन्ने निर्णय भैसकेको छैन । पछि चिन्न सकिने र सजिलै पहिचान गर्न सकिने संगठित समूहलाई खोप दिने तयारी मन्त्रालयको छ ।

आइतबारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । पहिलो मात्रा खोप लगाएकाहरूलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने तयारी छ ।

Leave A Reply

Your email address will not be published.