मेलम्चीको पानी वितरण शुरु

0

काठमाडौं : लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न शुरु गरिएको छ । 

आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गरेका हुन् ।

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको थियो । वितरण केन्द्रहरुमा संकलन गरिएको पानी उपभोक्ताको घर-घरमा पठाइएको हो ।

आइतबारदेखि देवकोटा सडक, बत्तिसपुलली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोटहाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण गरिएको केयूकेएलले जानकारी दिएको छ ।

पहिलो दिन आइतबार चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने जनाइएको छ ।

केही ठाउँमा पानी पुरानो पाइपलाइनबाट वितरण गरिएको छ भने केही ठाउँमा नयाँ पाइपलाइन परीक्षण र सफाइ गर्ने योजना छ । हाल पानी प्रशोधन केन्द्र, पाइपलाइन, ट्याङ्की परीक्षणका लागि पानी वितरण गरिएको हो ।

गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानी माग रहेकोमा ३१ करोड लिटर अपुुग छ ।

मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्र्याउने लक्ष्य छ । यो आयोजनाको अहिलेसम्मको ३१ अर्ब ३६ करोड रुपियाँ खर्च भएको छ ।

Leave A Reply

Your email address will not be published.