यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

0

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो ।

कोरोना भाइरसका कारण यस वर्ष आगामी जेठसम्म शैक्षिक सत्र  सञ्चालन हुनेछ । कार्यान्वयनका लागि कामपाले अहिले विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइसकेको छ भने शिक्षक पनि पठाउन थालेको छ । निजी विद्यालयका शिक्षकलाई पनि कामपाले उक्त पाठ्यसामग्री पठनपाठन गर्न सक्ने तालिम सञ्चालन गरिरहेको कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।

“यस वर्षका लागि शैक्षिक सत्रको समय साढे दुई महिना मात्र बाँकी छ । यस समयमा जे–जति सकिन्छ पठनपाठन कार्य शुरु गर्ने हो”, प्रमुख सुवेदीले भने । यसका लागि पाठ्यक्रम सबै विद्यालयमा पुगिसकेको भन्दै उनले पाठ्यपुस्तक पनि तत्काल पठाइने जानकारी दिए । गत फागुन २८ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र कामपा प्रमुख विद्यासुन्दर शाक्यले सयुक्तरूपमा ‘येँ देय् म्हसीके’ (काठमाडौँ चिनौँ) नामक स्थानीय पाठ्यपुस्तक विमोचन गरिसकेका छन् । 

नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो 

कामपा प्रमुख शाक्यले काठमाडौँ नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको जानकारी दिएका छन् । 

Leave A Reply

Your email address will not be published.