गोरखामा नुन र सुनको अभाव

0

गोरखामा बर्सेनि दुई चीजको अभाव हुने गर्छ । एक दुर्गम भेगमा खाने नुन अर्को, सुगम क्षेत्रमा गहना बनाउने सुन ।
यातायातको सहज पहुँच नहुँदा बर्सेनि बर्खायाममा उत्तरका १० गाविसमा नुनको ढुवानी गर्न सकिँदैन । मानिस अलि बढी नै नै आलु खान्छन् । दुर्गममा नुन ढुवानी गर्न साल्ट ट्रेडिङ कर्पोरेसनले एक वर्षअघि नै ठेक्का आह्वान गर्छ, ठेकेदारले ठेक्का पार्छन् । तर नुन ढुवानी गर्दैनन् । ढुवानी गरी पु¥याएको केही बोरा नुन पनि बेच्ने कर्मचारी नहुँदा स्थानीयवासीले किन्न पाउँदैनन् ।
नुन ढुवानीको ठेक्का पाएको काठमाडौँको जालपादेवी सप्लायर्सले यो वर्ष पनि नुन ढुवानी गरेको छैन । सडकमार्गको पहुँच पुगेको ठाउँसम्म ढुवानी गरेको सप्लायर्सले नुनको बोरा थुमी गाविसको आर्खेतबजार र सोतिबजार क्षेत्रमा खुल्ला चौरमा थुपारेर राखेको छ । त्यो नुन तीन महिनापहिले नै उत्तरी गोरखाका विभिन्न गाविसमा ढुवानी गरी पु¥याउनुपर्ने थियो । “राहतमा पाएको तीन पोका नुन सकियो,” तिब्बतसँग सीमा जोडिएको चुम्चेत गाविसका स्थानीयवासी शेराप गुरुङको गुनासो छ – “अलिनो आलु, ढिँडो खानुपर्छ ।” नुन, खुर्सानी, खाने तेलको अभाव भएको एक महिना बितिसकेको उहाँले बताउनुभयो । तर नुन ढुवानीको ठेक्का पाएको जालपादेवी सप्लायर्सका प्रतिनिधि लालु श्रेष्ठले भूकम्पले खच्चड, मानिस हिँड्ने बाटो अवरुद्ध भएकाले नुन ढुवानी गर्न नसकिएको बताउनुभयो ।
सप्लायर्सले गत वैशाख १२ अघि नै नुन ढुवानी गर्नुपर्ने भए पनि विभिन्न कारण देखाएर आलटाल गरेको स्थानीयवासी बताउँछन् । सातसय किलोग्राम नुन उत्तरी गोरखा पु¥याउनुपर्ने भए पनि ठेकेदारले समयमै ढुवानी नगर्दा समस्या देखिएको हो । सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, काशीगाउँ, उहिया गाविसमा नुनको अभाव छ । भूकम्पपीडित नुनको माग गर्दै धेरै पटक सदरमुकाम आइसकेका छन् तर उनीहरुको माग सुनुवाइ भएको छैन ।
“दुई÷चारबोरा नुन ल्याएर कति घरमा बाँड्ने,” सिर्दिवास गाविसका राजकुमार गुरुङ भन्नुहुन्छ – “खच्चड हिँड्ने बाटो खुलाउन सके मात्रै नुनको समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ । हेलिकप्टरबाट ढुवानी गरेको नुन बाँडेर साध्य लाग्दैन ।” अवरुद्ध मनास्लु पदमार्ग खुलाउन सकेमा थुमी, लापु, गुम्दा हुँदै उत्तरी भेगमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सकिने गुरुङको भनाइ छ । भूकम्पपछि पहिरोले बाटो बिगारेपछि उत्तरी भेगमा सञ्चालनमा रहने गरेका करिब दुई हजार खच्चडले काम पाएको छैन । दुई सयभन्दा बढी खच्चड भूकम्पपछि झरेको पहिरोमा मारिएका थिए । त्यसले गर्दा व्यवसायीलाई करोडौँको घाटा लागेको छ । एउटा खच्चडलाई ८० हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म पर्छ । उत्तरी भेगमा भरपर्दो ढुवानीको साधन खच्चड हो ।
अवरुद्ध लापु–माछाखोला बाटो खुलाउन नसकेपछि नेपाली सेना र सशस्त्र प्रहरीले मान्वु, केरौँजाको हुल्चोक हुँदै सिर्दिवासको जगतबजारसम्म नयाँ बाटो खोलेका थिए । बूढीगण्डकी नदीवारि रहेको मनास्लु पदमार्गको अर्को कोरिडोरमा वैकल्पिक बाटो खोलिए पनि बटुवा र खच्चड हिँड्न सक्दैनन् । त्यो बाटोको अधिकांश ठाउँमा सुक्खा पहिरोले बाटो बिगारेको छ । साथै शनिबार दिउँसो लापुबेसीमा झरेको पहिरोले गर्दा मान्वु र कासीगाउँ जोड्ने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएपछि सदरमुकामदेखि उत्तरी भेग आवागमनमा समस्या देखिएको लापु गाविसका पूर्वगाविस अध्यक्ष नरबहादुर गुरुङको भनाइ छ ।
दुर्गमका गोरखावासीले नुनको समस्या भोगिरहँदा सुगमका गोरखालीले आवश्यकतानुसार सुन किन्न पाएका छैनन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घ गोरखाका पूर्वअध्यक्ष अम्मर घतानेका अनुसार एक सातामा दुईदेखि चार किलोग्रामसम्म सुन चाहिने भए पनि जम्मा एक किलो सुनको बिक्री हुँदै आएको छ । “एक किलो सुनले पुगेन भनेर महासङ्घमा धेरै पटक आवाज उठायौँ,” उहाँले भन्नुभयो – “गोरखाका लागि सातामा एक किलो मात्रै सुन प्राप्त हुन्छ । त्यो सुन कसले बेच्ने ? को हेरेर बस्ने ?” गोरखाबजारमा मात्रै साना–ठूला गरी ३० ओटा सुनचाँदीका पसल सञ्चालनमा छन् । सदरमुकाम क्षेत्रमै अझै पाँचओटा भन्दा धेरै सुन पसल सञ्चालनको तयारीमा रहको देखिन्छ ।
आवश्यकतानुसार सुन नपाइएपछि यहाँका ग्राहक तनहुँको आँबुखैरेनीबजार, चितवनको नारायणगढ, काठमाडौँलगायत देशका ठूला सहरमा जान बाध्य भएको घतानेको भनाइ छ । नुन ढुवानी गर्ने, पर्यटक, स्थानीयवासी हिँड्ने मनास्लु पदमार्ग खुलाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले नेपाली सेना र सशस्त्र प्रहरीका जवान सम्मिलित करिब ६० जनाको टोलीलाई पदमार्ग क्षेत्रमै परिचालन गरेको जनाएको छ । पहिरो पन्छाएर सेना र प्रहरीले गोरेटो, घोरेटो बाटो खुलाएका छन् । तर वर्षापछि पहाडको ढिस्को खसेर पुनः बाटो अवरुद्ध हुने गरेको छ । भूकम्पपछि चिरा परेका डाँडामा पानीले जमिन गलाएपछि भत्कने गरेको छ ।
अवरुद्ध पदमार्ग सेना र प्रहरीले खोलेपछि आउँदो भदौ अन्तिम सातादेखि पर्यटकका लागि पदमार्ग खोल्ने पर्यटन व्यवसायीको तयारी छ । धार्चे मनास्लु पर्यटन व्यवसायी समितिका अध्यक्ष साने गुरुङले भन्नुभयो – “मनास्लु पदमार्गको थुमीबजारदेखि सिर्दिवास खण्ड मात्रै जोखिमयुक्त छ । सिर्दिवासदेखि लार्केपाससम्मको पदमार्ग सुरक्षित छ । पदमार्ग सुरक्षित रहेको सन्देश हामीले बेलैमा दिन सकेनौँ भने पर्यटक धेरै सङ्ख्यामा घट्छन् । यसको असर पदमार्गमा खुलेका होटल, व्यवसायका साथसाथै सिङ्गो पर्यटन क्षेत्रमा देखिन्छ ।
प्रशन्न पोखरेल

Leave A Reply

Your email address will not be published.